वीरगंज । वीरगंजको छपकैयामा धार्मिक सदभाव बिथोलेको आरोपमा हिन्दु तर्फबाट दुई र मुस्लिम समुदायका दुई युवकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । वीरगंज महानगरपालिका वार्ड नम्बर २ छपकैयाका शेख खुर्शेद, जमुदिन ठकुराई, बलजित सिंह र वार्ड नम्बर १६ नगवा बस्ने रबि सर्राफलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जनाइएको छ ।
चार दिन अगाडि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उच्छृङखल गतिविधि गर्दै धार्मिक सदभाव बिथोल्ने अरोपमा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडियो विश्लेषणको आधारमा चारै जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीबाट खटिएको विशेष टोलीले विभिन्न ठाउँबाट चारैजनालाई पक्राउ गरेको हो ।
हिन्दुवादी तर्फबाट दुई युवकलाई पक्राउ गरिएको बिरोधमा मंगलबार राती जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेका हिन्दुवादी नेताहरु बिरोध जनाएका थिए ।
पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ ।
सोही क्रममा समाचार संकलन गर्न पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार अर्जुन गुप्तालाई ढुंगा लागेर टाउको फुटेको तथा टिभी वीरगंजका पत्रकार अनिल ओझालाई प्रहरीको लाठीले खुटामा चोट लागेर घाईते भएका छन् । घाईते दुबैको वीरगंज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।
पत्रकार माथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ पर्सा, प्रेस चौतारी नेपाल पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, श्रमजीबी पत्रकार संघ नेपाल पर्साले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेको छ । कुनै पनि बहानामा पत्रकार माथिको आक्रमण सह्य नहुने बताउदै घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको माग गरेको छ ।
प्रहरीले लाठी चार्ज गरेपछि वीरगंजको माहोल झन् तनावपूर्ण बन्दै गएको छ । मंगलबार हिन्दुवादी युवाहरुले घण्टाघर, घडीर्वा पोखरी लगायत स्थानमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !