वीरगंज । हनुमान जयन्तीको उपलक्ष्यमा वीरगंजमा निकालिएको शोभा यात्रा माथि गरिएको आक्रमणमा परी करिब ४ दर्जन भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएका छन् । शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगंजको छपकैयामा पुगेपछि दुई फरक धर्मका समुदाय बीच झडप भएको हो ।
वीरगंज महानगरपालिकाको सम्पूर्ण वडा तथा अन्य पालिकाहरुबाट हिन्दू समुदायले हनुमान जन्मोत्सवको अवसरमा निकालेको शोभायात्रा वीरगंजको घण्टाघरमा जम्मा भई नगर परिक्रममा सुरु गरेको थियो । सोही शोभायात्रा बेलुका करिब ५ बजेको समयमा वीरगंज महानगरपालिका–२ श्रीराम हलस्थित जामे मस्जिद अगाडि पुग्दा मस्जिदबाट एक्कासी ढुंगा प्रहार भएको एक प्रत्यक्षदर्शीले बताए । त्यस पछि दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।
दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुको साथै दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले वीरगंज शहरी क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । वीरगंजमा शनिबार बेलुकी ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार पूर्वमा भेडियाही चौक, उत्तर गण्डक चौक, पश्चिममा सिर्सिया चौक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगंज शहरी क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो ।
छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीय बीच झडप चलिरहेपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार झडपमा परी प्रहरी र स्थानीय गरी करिब ४ दर्जन घाईते भएका छन् । घाईतेहरुको नारायणी अस्पताल सहित अन्य अस्पतालहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यसैबिच हिन्दू समाजले शनिवार राती माईस्थान मन्दिर अगाडि पत्रकार सम्मेलन गर्दै शन्तिपूर्ण शोभायात्राको क्रममा छपकैयामा फरक समुदायका व्यक्तिहरुले अचानक ढुंगामुढा गरेको विभिन्न भिडियो, फोटोहरुबाट प्रष्ट हुन्छ, र प्रहरीले परिचालन गरेको ड्रोन क्यामराको भिडियो, फोटो सार्वजनिक गरी त्यसै आधारमा प्रहरीले दोषीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !