काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहिद घोषणा गर्न माग गरेको छ । भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको रहस्यमय तरीकाले हत्या गरिएको भन्दै संगठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न र शहिद घोषणा गर्न नेपाल सरकार सँग माग गरेको हो ।
‘भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको थियो । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानवअधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो । हाम्रो संगठन पत्रकार रजकको हत्याको घोर निन्दा र भत्र्सना गर्दछ । सो रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न, स्व. पत्रकार रजकलाई शहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौँ ।’ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठले भने ।
समाजवादी प्रेस संगठन नेपालले रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वमा संगठनका उपाध्यक्ष अस्मिता गिरी, महासचिव रोहित दाहाल, उप–महासचिव प्रेम गौतम, लेखनाथ सिकारु, सचिव प्रदीप नेपाली लगायतका पदाधिकारीहरुले सो रकम शनिबार रजकको परिवारलाई भेटेर हस्तान्तरण गरेका हुन ।आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले समाजवादी प्रेस संगठन नेपाल पत्रकारहरुको हकहित र भौतिक सुरक्षाका निम्ति संवेदनशील रहेको बताए । पत्रकारको सुख, दुःखमा संगठन, सदैव साथसाथै हुने उनको भनाई थियो । श्रमजिवी पत्रकारहरुको हकहितको लागि सधै अग्रणी भूमिका निर्वाह गर्दै आएका संगठनले स्व. रजकको न्यायको लागि आफुहरु दृढताका साथ लागि पर्ने बताएका थिए । ‘लोकतान्त्रिक मुलुकमा समाचार संकलनको क्रममा पत्रकार मारिनुपर्ने विडम्बनापूर्ण स्थिति भोग्न हामी बाध्य भएका छौँ । राज्य र आन्दोलनकारी दुबैको निशानामा पत्रकारहरु पर्दै आएका छन् । समाचार संकलनकै क्रममा पत्रकार मारिनुपर्ने अवस्थाले भयावह स्थिति पैदा गरेको छ’ अध्यक्ष श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस् !