वीरगंज । हनुमान जन्मोत्सवको अवसरमा शनिबार वीरगंजमा निकालिएको शोभायात्रा नगर परिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा हुंदा दुई समूहबीच झडप सुरु भएको थियो ।
सो झडपका कारण शनिबार देखि जारी तनाव अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर भएको दुई पक्षीय, सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरूलाई वैशाख ३ गते भित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिक÷साम्प्रादायिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारवाहीको प्रक्रियामा सहयोग पु्¥याउने सहमति भएको छ ।
यस्तै शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, वीरगंजमा अब आयोजना हुने धार्मिक एवं सांस्कृतिक सम्बन्धी कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको छ ।
यसैगरी वीरगंज सहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदर्शा र विद्यालयहरुमा सूक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
सो पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुँदाप्रति जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता, हिन्दू र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेको अर्यालले बताए ।
तर हिन्दू समुदायका अगुवा रंजन सिंह र सागर सर्राफले अल्टिमेटम सहितको सहमति भएको बताए । शोभायात्राका क्रममा ढुंगामुढा गर्नेहरुलाई बैशाख ३ गते भित्र पक्राउ गरी कारवाहीको दायरामा नल्याए चरणबद्ध रुपमा संघर्षका कार्यक्रमहरु गर्ने बताए ।
बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका प्रहरी उपरीक्षक दिलिप सिंह, नेपाली सेनाका वीरगंजस्थित श्री श्री जंग गणका प्रमुख कर्नेल निराजन कटुवाल लगायतका सहभागी थिए ।
त्यसैगरी, बैठकमा कांग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कुर्मी, एमाले जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, माओवादीका जिल्ला अध्यक्ष बिजय महतो, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपाका तवरेज अहमद, आम जनता पार्टीका जिल्ला अध्यक्ष भोला पटेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका सहभागी थिए ।
प्रजिअ अर्यालले शनिबार बेलुकी देखि वीरगंजमा लगाइएको कफ्र्यू भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताए । त्यसपछिका लागि भने जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने उनले बताए । उनले भने, ‘राति १२ बजेपछि भने कफ्र्यू हटाएर केही निश्चित क्षेत्रहरूमा निषेधाज्ञा जारी गर्ने सम्भावना छ ।’
अर्यालले शनिबारको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको जानकारी दिँदै घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक सहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना भन्दा बढी घाइते भएको बताए ।
प्रतिक्रिया दिनुहोस् !