पर्सा १८ साउन । देशको आयात निर्यात व्यापारमा आधा भन्दा बढी योगदान रहेको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहमा पूर्वाधार बिस्तार गरिँदै छ ।
जाँच चौकीमा विश्व बैंकको ऋण सहयोगमा पूर्वाधार बिस्तार गरिँदै छ । सुक्खा बन्दरगाहमा विश्व बैंक तथा इन्टर मोडल यातायात विकास समितिको आफ्नै लगानीमा पूर्वाधार विस्तार गर्न लागिएको हो ।
विश्व बैंकको रणनीतिक सडक सञ्जाल आयोजना अन्तर्गत आईसीपीमा पूर्वाधार विस्तारको काम भइरहेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । यहाँ जुलाई २४ बाट काम सुरु भइसकेको छ । ४० हजार वर्गमिटरको पार्किङ, गोदाम, जाँचपास सडक र धर्मकाँटा निर्माण गरिँदै छ ।
यो विश्व बैंकको सफ्ट लोन अर्थात ऋण सहयोग परियोजना हो । दुई दशक अघि बन्दरगाह निर्माणमा पनि विश्व बैंकले नै लगानी गरेको थियो । बिकेओआई/पिआर/नव कान्तिपुर ज्वाइन्ट भेन्चरको कम्पनीले ३९ करोड ८० लाख रुपैयाँमा बन्दरगाहमा यी पूर्वाधार निर्माणको ठेक्का पाएको गजुरेलले बताए ।
सन् २००४ देखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह नेपालको पहिलो र ठूलो सुक्खा बन्दरगाह पनि हो । ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो बन्दरगाहको अधिकतम क्षमता १ हजार ५ सय ८६ कन्टेनर हो । तर सधै क्षमताभन्दा बढी कन्टेनर व्यवस्थापन गर्नुपर्ने दायित्वको कारण बन्दरागाह सञ्चालक कम्पनीलाई समस्या हुँदै आएको छ ।
भारतीय रेल्वे सञ्जालसँग जोडिएको यो बन्दरगाहबाट भारतको कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाह हुँदै मालवस्तु आयात निर्यात हुने गर्छ । भारतबाटै पनि चिनी, रासायनिक मल, फलाम, कोइला आदि वस्तु आयात हुने गरेको छ ।
इन्टरमोडल यातायात विकास समितिले निजी क्षेत्रलाई हाल यो बन्दरगाह सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । पहिलो डेढ दशक हिमालयन टर्मिनल कम्पनीले सञ्चालन गरेको यो बन्दरगाह हाल प्रिष्टिन भ्याली कम्पनीले सञ्चालन गरिरहेको छ । यही कम्पनीले आउँदो ५ वर्षका लागि पनि बन्दरगाह सञ्चालनको ठेक्का पाएको छ ।
सुक्खा बन्दरगाहमा १० हजार वर्ग मिटरको लुज कार्गो पार्किङ यार्ड निर्माणमा विश्व बैंकको लगानी छ । जसमा १ हजार १ सय मिटर लामो र २५ मिटर चौडा सर्फेस ढलान हुने छ ।
यसका साथै ३ र ५ नम्बर रेल्वे लेनको बीचमा क्रंकिट जडान गरिने छ । साथै सवारी चालकलाई आराम कक्ष र शौचालय, १ सय २० टन क्षमताको धर्मकाँटा समेत निर्मााण गरिनेछ । १९ करोड २० लाख रुपैयाँ लागतको यो ठेक्का ब्रदर/रेनियान्स ज्वाइन्ट भेन्चरको कम्पनीले पाएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम आइसिपि र सुक्खा बन्दरगाहको व्यस्तता बढेसँगै यीनको क्षेत्र विस्तार र पूर्वाधार थप गर्नुपर्ने आवश्यक रहेको बताउँछन् । हाल बन्द रहेको बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रियालाई अविलम्ब टुंग्याएर बन्दरगाह र चौकी दुबैको क्षेत्रफल विस्तार गरिनुपर्ने उनले बताए । ईकान्तिपुर
प्रतिक्रिया दिनुहोस् !