वीरगंज । वीरगंज कलेज श्रीपुरमा अध्ययनरत्त विद्यार्थीहरुको स्टुडेन्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिला सहित ६२ जनाले बुधबार रक्तदान गरेका छन् ।
कलेज परिसरमा आयोजित सो कार्यक्रममा सुनिता साह, रितिका कुमारी महर्जन, प्रीति कुमारी, जान्हवी गुप्ता, रिया यादव, टेकचन्द्र साह, श्रवण पटेल, विकेश कुमार, बिनय थारु, बिकेश कुमार पटेल, नवल किशोर ठाकुर, धिरज दास, नितेश गुप्ता लगायतका युवा विद्यार्थीहरूले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ ।
स्टुडेन्ट क्लबका अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि कलेजका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरी, विशिष्ट अतिथिमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, डा. अशोकराज ठाकुर लगायतको सहभागिता रहेको थियो ।
कलेजले विगतमा हरेक वर्ष माघ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष भने रगतको आवश्यकता र मागलाई मध्यनजर गर्दै कार्यक्रम चैत महिनामा आयोजना गरिएको अध्यक्ष डा. चौधरीले बताए । “गर्मी मौसममा रगतको खपत बढ्ने भएकाले यसको आपूर्ति सहज बनाउनु हाम्रो उद्देश्य हो,” उनले भने, “यसका साथै, विद्यार्थीहरूलाई रक्तदानको महत्व बुझाउँदै यस कार्यमा सहभागी हुन उत्प्रेरित गर्नु पनि कार्यक्रमको लक्ष्य हो ।”
सो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली र आयोजक संस्था बी.सी.पि.एल. स्टुडेन्ट क्लबले उल्लेखनीय सहयोग पु¥याएका थिए ।
प्रतिक्रिया दिनुहोस् !