पर्सा । वाइफाइको विषयलाई लिएर आफन्तबीच भएको झैझगडामा ८० वर्षीय वृद्धको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटना पर्साको पोखरिया नगरपालिकाको हो ।
घटनामा पोखरिया नपा–८ जगातपुर निवासी ८० वर्षीय वृद्ध रमजान देवानको मृत्यु भएको हो । हजुरबुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा २० वर्षीय नाति काबुल भन्ने आजाद देवान र १८ वर्षीया नातिनी खुश्बु खातुन पक्राउ परेका छन् ।
हाल आरोपित दाजुबहिनी इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा छन् । प्रहरीले ज्यानसम्बन्धी कसुर अपराधमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । दुवै रोज देवानका छोराछोरी हुन् । मृतक हजुरबुवा रमजानको शव नारायणी अस्पताल वीरगन्जमा परीक्षण गरिएको छ । शव परीक्षणको नतिजा आउन बाँकी छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्माका अनुसार सोमबार साँझ करिब ४ बजेको यो घटना भएको हो । झगडा पछि रमजान गम्भीर भएका थिए । उनलाई उपचारार्थ नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
नारायणी अस्पतालको प्रहरी युनिटबाट घटनाबारे सूचना आएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ११ बजे आरोपित नातिनातिनालाई नियन्त्रणमा लिएको हो । घटना पछि मृतककी पत्नी अर्थात् आरोपितकी हजुरआमा खतिजा खातुनले प्रहरीमा जाहेरी दिएकी छिन् ।
प्रहरी निरीक्षक शर्माका अनुसार मृतक रमजानको घरसँगै जोडिएको उनकी छोरी दाई खातुनको घर छ । रमजानको घरमा रहेको इन्टरनेटको वाइफाइको लाइन बन्द गरिएपछि विवाद सुरु भएको थियो । आरोपित आजाद र खुश्बुले आफूहरूको वाइफाइको पासवर्ड फुपू दाई खातुनको घरमा चोरेर प्रयोग हुने गरेको आरोप लगाउँदै आफ्नो घरको वाइफाइको लाइन काटेका थिए । वाइफाइको दुरुपयोग भइरहेको दाबी गर्दै उनीहरूले आफ्नी आमा रब्जा खातुनलाई सुनाएपछि रब्जाले नाम नकिटेर सार्वजनिक रूपमै गालीगलौच गर्न सुरु गरिन् ।
भाउजूले गालीगलौच सुरु गरेपछि आफूलाई लक्षित गरी गालीगलौच गरेको भन्दै उनकी नन्द दाई खातुनको भाउजू र भदाभदैसँग झगडा सुरु भएको थियो । छोरी, बुहारी र नातिनातिना आपसमा झगडा गर्न थालेको देखेर बचाउ गर्न गएका वृद्ध रमजान उपरनै नातिनातिनाले आक्रमण गरेको र त्यसपछि रमजान अचेत भएको आरोपसहित रमजानकी पत्नी खतिजा खातुनले जाहेरी दिएकी छिन् ।
प्रहरी निरीक्षक शर्माले जाहेरी नै आइसकेपछि घटनाबारे सूक्ष्म र गम्भीर अनुसन्धान भइरहेको बताए । मृतक, जाहेरवाली र आरोपित समेत सबै एकै परिवारको भएकाले परिवारबाट हाल यो पारिवारिक घटना भएकाले आफूहरूले घरमै मिलाउने भनी मुद्दा नचलाइदिन दबाब आइरहेको उनले बताए ।
तर मृत्यु जस्तो घटना न त व्यक्तिगत, न त पारिवारिक रूपमा बसेर मिलाउन सकिन्छ,’ उनले भने, ‘हामी अनुसन्धानको क्रममै छौँ, शव परीक्षणको रिपोर्ट नआउन्जेल केही भन्न सक्ने अवस्था छैन ।’ ईकान्तिपुर
प्रतिक्रिया दिनुहोस् !