पर्सा । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जंगली हात्तीले पर्साको ठोरीमा आतंक मच्चाएको छ ।
साँझ पर्ने बित्तिकै गाउँ पस्ने गरेको हात्तीले घर भत्काउँदै भण्डारण गरी राखेको अन्न खाइदिनुका साथै छरेर नष्ट गरेपछि स्थानी आतंकित बनेको ठोरी गाउँपालिका-२ का अध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए ।
सापकोटका अनुसार बुधबार बिहान ३ बजेको समयमा जंगली हात्तीले स्थानीय चेतबहादुर बस्नेतको घर भत्काइ दिएको छ ।
सापकोटाले भने, ‘हात्तीले बस्नेतको घरको माथिल्लो तलाको बार भत्काएर धान राखेको भकारी बाहिर फालिदिएको छ । १२ मुरीभन्दा बढी रहेको धान खाइदिनुका साथै छरेर क्षति पुर्याएको छ ।’
हात्ती बस्तीमा पसेर घर भत्काउँदै भण्डारण गरी राखेको धान, मकै लगायत अन्नबाली खाइदिन थालेपछि स्थानीय त्रसित बनेको उनले बताए ।
जंगली हात्तीले बस्नेतको मात्रै होइन, गौतम नगरका काजी प्याकुरेलको घर समेत भत्काइ दिएको छ । प्याकुरेलको घरमा भण्डारणा गरी राखेको धान खाइदिएको उनले बताए ।
साँझ पर्न साथ गाउँ पस्ने हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीहरू रातभर जाग्रम बस्नुपर्ने बाध्यता रहेको स्थानीय शिक्षक समेत रहेका चिरञ्जीवी सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
आतंक मच्चाउँदै घरमा भण्डारण गरी राखेको अन्नपात खाएर दुःख दिने गरेको स्थानीय जगन्नाथ बस्नेत बताउँछन् । गाउँ पसेको हात्ती भगाउन गाउँलेहरूले हो-हल्ला गर्ने गरे पनि अटेर गरी आतंक मच्चाउने गरेको उनी दुखेसो पोख्छन् ।
वडा २ को गौतम नगरमा आतंक मच्चाएको हात्ती सोही वडाको इच्छानगरमा पनि गएर उपद्रो मच्चाएको सापकोटा बताउँछन् । साँझ गाउँ पसेको हात्ती बुधबार बिहान ११ बजेसम्म इच्छानगर क्षेत्रमा बसेर उपद्रो मच्चाएको उनले बताए ।
गाउँ पसेको हात्तीबाट बच्नका लागि नेपाली सेनाको टोलीले इच्छानगर क्षेत्रमा सर्वसाधारणलाई हिँड्डुल गर्न रोक लगाएको उनले बताए ।
३ दिनअघि मात्रै नेपाली सेनाको अमुवा पोस्टमा कार्यरत सेनालाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । अनलाईन
प्रतिक्रिया दिनुहोस् !