वीरगंज । यातायात व्यवस्था कार्यालय कलैया बारामा सवारी चालक अनुमति पत्र (लाईसेन्स) धमाधम विक्री भईरहेको रहस्य उजागर भएको छ ।
सो कार्यालयका कार्यालय प्रमुख नवाज हुसैनको निर्देशनमा दर्जनौं बिचौलियाहरु परिचालन गरिएको जनाईएको छ । सेवाग्रहीहरुलाई कलैया यातायातमा रिझाउनका लागि प्रमुख हुसैनले अन्य जिल्लाको तुलनामा आफ्ना कार्यालयको आन्तरिक घुसको दररेट कम गरेको स्रोतले जनाएको छ ।
जसअनुसार मोटरसाईकलको ८ हजार, कारजिपको १२ हजार र हेभी गाडीहरुको २० हजार लिने गरेको ती स्रोतको भनाई रहेको छ । हप्तामा एक पटक प्रत्येक बिहिवार लिखित र शुक्रवार ट्रायल गरी प्रमुख हुसैनले लाखौं लाख असुल्दै महिनामा करोडौं असुली राखेको आरोप लाग्दै आएको छ ।
प्रमुख हुसैनले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै खरिदार सत्यनारायण साह, कम्प्यूटर अधिकृत कलाम हुसैन मार्फत असुली गराई रहेको सोही कार्यालयमा कार्यरत्त एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
सो कार्यालयमा आवेदन दिएका लिखित परीक्षार्थीहरुमा कति जना फेल र कति जना उर्तीण रहेको परिणाम कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्नु पर्नेमा प्रमुख हुसैनले सो नगरी उर्तीण परीक्षार्थीहरुको नजिता मात्र प्रकाशित गर्दै सूचना लुकाई सुक्ष्म तरिकाले भ्रष्टाचार गरिरहेको सेवाग्रहीहरुको आरोप रहेको छ ।
कलैया यातायात कार्यालय सानै अवधिमा भ्रष्टाचारको मामिलामा गन्हाई रहँदा नियमनकारी निकायको ध्यान नजानुले सेवाग्रहीहरु अनेकौं किसिमका शंका उपशंका गर्न बाध्य भएका छन् । यस सन्दर्भमा कार्यालय प्रमुख हुसैन सँग प्रतिक्रिया लिन मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस् !