काठमाडौं २३ चैत ।
‘रुसी सेनामा आवद्ध नेपालीको जिवन रक्षा अभियान’ले आफ्ना नागरिकहरुको जीवन रक्षा गर्न माग गर्दै नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नेतृ समेत रहेकी अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको पीडितहरुको समूहले शुक्रबार गृहमन्त्री लामिछानेलाई भेटेर रुसी सेनामा रहेका नेपालीहरुको जीवन रक्षा गरिदिन माग गरेको हो ।
भण्डारीका अनुसार गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६२० जना नागरिकको विवरण समेत उपलब्ध गराइएको छ । तीमध्ये ३९ जनाले ज्यान गुमाएको अभियानको दाबी छ । परराष्ट्र मन्त्रालयले भने १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
‘हामी सँग सामाजिक सञ्जालमा जोडिएका ४२० जना रुसी सेनामा आवद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ’, भण्डारी लगायतले गृहमन्त्री लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ, ‘ती सामग्री देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस पृष्ठभूमिमा रुसबाट नेपाली दाजुभाइले निरन्तर हामीलाई सम्पर्क गरेर जीवन रक्षा गरिदिन अनुरोध गरिरहनु भएको छ ।’
उनीहरूले भाडाका सिपाहीका रूपमा रुसी सेनामा नेपाली नागरिकको भर्ती र त्यसले सिर्जना गरेको जनधनको क्षतिको विषय सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नुपर्नेमा जोड दिएका छन् । मानव तस्करको प्रलोभनमा परेर झूठो विवरणमा भर परेर नेपाली युवा रुस पुगेको अभियानले जनाएको छ ।
‘पिडित परिवार तथा रुसी सेनाबाट फर्किएर आएका नेपाली युवाका अनुसार विचौलियाहरूले अहिले पनि नेपालमै सक्रिय छन्, उनीहरूले पीडित परिवारलाई उद्दार गरिदिन्छु भन्दै रकमको मोलमलाई गरिरहेका छन्’, ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, दोषीमाथि कारवाही गर्न गृहमन्त्री सँग जोडदार रुपमा माग गरिएको छ ।’
सो ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लामिछानेले रुसी सेनामा गएका नेपालीको समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा जटिलता देखिएको बताए । ‘यो समस्याबारे प्रधानमन्त्री सँग पनि तत्काल समन्वय गर्छु, कसरी समस्या समाधान गर्न सकिन्छ, त्यो विषयमा छलफल गर्छौं’, उनले भने, ‘रुसी सेनामा रहेका नेपालीहरूलाई फर्काइदिने भन्दै असूली गर्नेलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए ।’
प्रतिक्रिया दिनुहोस् !